ए कमरेड!
हामी मालेमावाद पढेर
माओवाद जिन्दावाद भन्दै
मुक्ती संग्राममा उत्रिएर
जाली फटाहा र सामन्तीका बिरुध्द
नारा घन्काउँदै
साम्यवादी समाजको परिकल्पनामा लिप्त
जोश र जाँगरका साथ
यो समाज फेर्ने अभिभारा बोकेर हिँडेका हैनौँ?
आज प्रश्नहरुको पहाडमा उभ्भिएर
मेरो यात्रिक पाइलाहरु
मेरो उद्देश्य र प्रतिफल खोजिरहेछन्;
कमरेड!
हजारौँ सहिदको रगतले कोरिएको
हाम्रो रक्तिम इतिहास कहाँ छ?
लाखौँको बलिदानीले आर्जेको
त्यो वाद कहाँ छ?
कहाँ छ हाम्रो सपनाको साम्यवादी समाज?
ए कमरेड!
मेरा खोजहरु
घरी पुग्छन् खाडीसम्म
घरी राज्यले बेपत्ता पारेकाे सन्तान
पर्खिएर बसेकी आमासम्म
घरी द्वन्दमा मारिएका
बाआमाबारे सोध्दै गरेका
नानी बाबुहरुसम्म
खोजेँ मैँले निरन्तर खोजिरहेँ
घरी लाजिम्पाट हुँदै सिंहदरबारसम्म
घरी दुतावास हुँदै दिल्ली दरबारसम्म
तर भेटिन मैँले
हाम्रा रगतका फाल्साहरुको मुल्य
सपनाको साम्यवादी समाज
भेटियो त केवल
उहि समाज
उहि वेथिती
उहि संस्कार
अनि हाम्रा सपनाका अनगिन्ती चिहानहरु
जहाँ हाम्रा सपनाहरु
थचारिएका छन् कहिल्यै नउठ्नेगरी!
म एक खोजकर्ता
त्यही युध्दको एक योध्दा
जो त्यहि मुक्तियुद्धको एक मोर्चा
झुर्झुरे मोर्चामा मारिएको योध्दा
अर्थात
म एक सहिद!
Saturday, August 1, 2015
सपनाको खोज
Labels:
कविता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment