Friday, January 1, 2016

कुण्ठा

मस्त नशामा
अर्धबेहोसीको तालमा
मैँले भुलाउन खोजेँ
मैँले बिर्सन चाहेँ
आफु हुनुको अस्तित्व
एक्लो हुनुको पिडा
तर
यि निर्दयी रातहरु
आकाशमा झल्मलाएका ताराहरु
त्यो जुनेली रातले
सँधै कुठाराघात गरिरहे
मेरै समिप रहेर
मेरै अघिल्तिर रहेर
निष्प्राण बनाउन चाहे

पिडाबोध गराइरहे
एक्लो हुनुको पिडाबोध!

कठै!म अनि मेरो मन
तल्लिनरत मेरा
निष्काम प्रयत्नहरु
तिम्लाई भुल्ने
आफैँलाई बिर्सने
आफु हुनुको बोधबाट
अज्ञात रहने
सबै सबै प्रयासहरु
हरदम हरपल
दुखिरहे भित्र भित्रै
यसै यसै अनायसै!!

गजल

अव्यक्त प्रेमको अपुरो कहानी तिम्रो जस्तै मेरो पनि
अनिँदो रातमा आँशुको सिरानी तिम्रो जस्तै मेरो पनि!!

म चौतारी बनेँ,बिसाए थकाई;कति आए कति गए
अन्तत यहाँ छ एक्लो जवानी तिम्रो जस्तै मेरो पनि!!

म फुल्थेँ मगमगाउथेँ र चुम्थ्यो भवँरा अंग अंग
झरेँ म यसै भो संसार बिरानी तिम्रो जस्तै मेरो पनि!!

नखोज,नसोध,नखोतल;चिरेर छाती देखाउन्न म
छुपाको दिलमा उसको निसानी तिम्रो जस्तै मेरो पनि!!