Wednesday, August 12, 2015

दुखेको राष्ट्रियता

दुई ढुङ्गाबिच चेप्टिएको
एउटा सानो भुगोलभित्र
म मेरो राष्ट्रियताको नारा लगाउँदै
कतिन्जेल नेपाली हुनुमा गर्व गरुँ?
यो नपुंसक सरकारलाई
दिल्ली दरबारले
चौरासी व्यञ्जनको स्वाद चखाएर
नेपाल मातृभूमीको अस्मितामा
धावा बोलिरहेछ
लुटिरहेछ सतित्त्व!
मेरी नेपाल आमाको
नाङ्गो र कोमल छातीमाथि
बिदेशी कुकुरहरुले
दिनदाहाडै परेड खेलिरहँदा
यो सरकार
निमित्त आफ्नो सत्ता बचाउन
हारगुहार मागिरहेछ!
हिजो कालापानी गुमाउँदाको
असह्य पिडाहरु
खुम्चिएका सिमानाहरु
छातिभरी सुम्सुम्याउँदै
लिपुलेक हाम्रो भन्न पनि नपाउने?
बेचिएका कोशी कर्णाली अनी महाकाली
रुदै बग्दै गरेका ति गण्डकीका
अश्रुधाराहरुले हामीलाई सरापिरहेका बेला
ए सरकार भन्
म के आधार बोकेर
नेपाली हुनुमा गर्व गरुँ?
बरु भन्
सुस्ता हाम्रो हैन
कालापानी हाम्रो होइन
हाम्रो हुँदै हैन लिम्पियाधुरा र टनकपुर पनि
भन्दे खुलेआम भन्दे अब
हाम्रो राष्ट्र र राष्ट्रियता छैन
हाम्रो स्वामित्वमा
हाम्रो आफ्नै भुगोल छैन
म तयार छु
तेरो बिकाउ राष्ट्रियताको झण्डामुनी
अराष्ट्रिय भएर बाँच्न !!

No comments:

Post a Comment