Friday, June 10, 2016

सोचमा कैद अस्तित्व

रहर र बाध्यताको फ्युजनबिच
रमिते बनेको छ जिन्दगी
हेर्दा सग्लो छ स्वरुप
तर हर एक एक पल बिचमा
एक एक मृत्यु मरेर
फगत स्वास प्रस्वासकै
निरन्तरको प्रकृयालाई
जिन्दगी भन्ने हो भने
सुन ए मेरा प्रियजनहरु
म अझै जिवित छु ।

भलै तिमी जस्तै नबाँचुला म
तर एक स्वास प्रस्वास नली त
मसँग पनि छ
यो कपट दुनियाँ नियाल्ने
एक जोडा आँखाका नानी
मसँग पनि छ
छन् मसँग तिम्रै जस्ता अंग प्रत्यंगहरु
फरक यति हो
मसँग तिम्रो जस्तो मगज छैन
तिम्रो जस्तो मुटु छैन
तर म छु
तिमी बाँचेकै एक भुगोल खण्डमा
कुनै बदनाम गल्लीभित्र
जिजिबिषा सल्बराइरहेका
एउटा सग्लो शरिर लिएर
बदनामको जिन्दगी ब्यतित गरेको
तथाकथित मान्छे भनेर चिनिने
सामाजिक भएर पनि
असामाजिक प्राणीको श्रेणिमा
गिन्ती गरिएकी
म अझै जिवीत छु
सक्छौ नियालेर हेर
एकपटक
हजार पटक
या पटक पटक
तिम्रा आँखाका तेजहरुले
मलाई आमा देख्छ कि
दिदी बहिनी देख्छ कि
प्रियतमा सखि देख्छ
या एक वेश्या
नतिजा तिम्रै सोचमा छोड्दैछु ।।

No comments:

Post a Comment