Wednesday, September 9, 2015

विकल्प बिहिन

प्रिय
ति परेली केशहरु
जसमा अल्झिएर
नौरंगी सपना साँच्ने
एकजोडा आँखा सम्मुख
मेरो उन्मुक्तिको चाहनाले
पक्कै पनि
कुठाराघात गरेको हुँदो हो
रेटेको हुँदो हो तिम्रो छाती
तितो यथार्थको करौँतीले
नअंकुराउँदै उजाड बने होलान्
तिम्रो स्वप्न बगैँचा !
सम्बन्ध भित्रको मर्यादा
लाग्दो होला
मैँले उल्लंघन गरेँ
बिटुलो पारिदिएँ
स्वतन्त्रताको परिभाषा
तर
मेरो प्रिय मान्छे
मलाई आवरणको सुन्दरता
स्त्रीको सुन्दर गहना
किन किन हजम भएन !
अभिशप्त जिन्दगी बोकेर
सामाजिक परिवेशभित्र
असामाजिक भएर बाँच्ने
रहर भन्दा ज्यादा बाध्यता
जब
ज्वाला बनेर मुुटुमा सल्किन्छ
तब
एकाध निर्णयहरुले
मष्तिष्कलाई रोमान्चित बनाउने
रहस्य पाएँ
हो
तिम्ले ठिक सुन्यौ
म पागल भएँ
सद्दे हुनुको हदमा बसेर
बेहद दुखेको मन बुझाउने
बैकल्पिक बाटाहरुको अभाबमा
सद्दे हुनुको एक मात्र प्रमाण
मैँले मुखुण्डो उतारिदिएँ
मलाई माफ गर प्रिय
मैँले केश मुण्डन गरेँ!!

No comments:

Post a Comment