Wednesday, August 5, 2015

गन्धे काठमाडौँ

आमा  तिम्ले ठिक सुन्यौ
यो काठमाडौँ साह्रै गन्हाउँछ
सुकिलामुकिला बाबुसाहेब/साहिबाहरुलाई
भरियाको पसिना गन्हाउँछ
बाटो हिँड्ने बटुवालाई
गल्ली गल्ली चोक चोक गन्हाउँछ
पँजेरो प्राडो चढ्नेहरुलाई
सुकुम्वासी बस्ती र गरिबी गन्हाउँछ
हो आमा
यो काठमाडौँ एकदमै दुर्गन्धित छ
मान्छेहरु भन्छन्
तर आमा
मलाई काठमाडौँ भन्दा ज्यादा
यहाँका मान्छे दुर्गन्धित लाग्छ
सडक गल्ली भन्दा ज्यादा
यात्रीहरु दुर्गन्धित लाग्छ
गन्हाउन त मलाई पनि गन्हाउँछ
उनिहरुलाई जस्तै
तर यो काठमाडौँ हैन
मान्छेहरुको मगज गन्हाउँछ
बागमतीको ढलभन्दा ज्यादा
मान्छेहरुको खोक्रो आडम्बर
मानबियता भन्दा ज्यादा
पैसाको रबाफिलो डकार
साह्रै साह्रै गन्हाउँछ आमा
यहाँको फोहोरी राजनीति
राजनेताहरुको जडौरी सपना
अक्सर यिनीहरुको आश्वासन
मलाई टुकुचा र बिष्णुमती भन्दा
सयौँ गुणा ज्यादा गन्हाउँछ
मान्छेहरुलाई यो काठमाडौँ गन्हाउँछ
मलाई यहाँका मान्छेहरु गन्हाउँछन्
हो आमा तिम्ले ठिक सुन्यौ
यो काठमाडौँ हामी बस्न लायक छैन
यो सम्भ्रान्त समाजमा
हामी जिउन लायक छैनौँ
यहाँ पाल्तु कुकुरहरुले पनि
हामी जस्ता गरिबको खिल्ली उडाउँछन्
हामी एक पेट खानको लागी
रगत र पसिना बगाउँछौँ
कुकुरहरु अचेल यहाँ
पँजेरोमा सयर गर्छन्
साँच्चै आमा
यो काठमाडौँ साह्रै गन्हाउँछ
काठमाडौँ भन्दा ज्यादा
मान्छेहरुको मगज गन्हाउँछ !!

No comments:

Post a Comment