Wednesday, September 9, 2015

विकल्प बिहिन

प्रिय
ति परेली केशहरु
जसमा अल्झिएर
नौरंगी सपना साँच्ने
एकजोडा आँखा सम्मुख
मेरो उन्मुक्तिको चाहनाले
पक्कै पनि
कुठाराघात गरेको हुँदो हो
रेटेको हुँदो हो तिम्रो छाती
तितो यथार्थको करौँतीले
नअंकुराउँदै उजाड बने होलान्
तिम्रो स्वप्न बगैँचा !
सम्बन्ध भित्रको मर्यादा
लाग्दो होला
मैँले उल्लंघन गरेँ
बिटुलो पारिदिएँ
स्वतन्त्रताको परिभाषा
तर
मेरो प्रिय मान्छे
मलाई आवरणको सुन्दरता
स्त्रीको सुन्दर गहना
किन किन हजम भएन !
अभिशप्त जिन्दगी बोकेर
सामाजिक परिवेशभित्र
असामाजिक भएर बाँच्ने
रहर भन्दा ज्यादा बाध्यता
जब
ज्वाला बनेर मुुटुमा सल्किन्छ
तब
एकाध निर्णयहरुले
मष्तिष्कलाई रोमान्चित बनाउने
रहस्य पाएँ
हो
तिम्ले ठिक सुन्यौ
म पागल भएँ
सद्दे हुनुको हदमा बसेर
बेहद दुखेको मन बुझाउने
बैकल्पिक बाटाहरुको अभाबमा
सद्दे हुनुको एक मात्र प्रमाण
मैँले मुखुण्डो उतारिदिएँ
मलाई माफ गर प्रिय
मैँले केश मुण्डन गरेँ!!

Wednesday, September 2, 2015

मलाई स्विकार्य छैन

हजारौँ सहिदको
रक्तकुण्डमा होली खेलेर
लाल कमरेडहरु
लाल दरबारभित्र
लालसाको खेती गरिरहेछन्
मेरो क्रान्ति चेत
लालझण्डाको छायाँमुनि
सुरक्षित भएको ढोंग
कहिलेसम्म गरुँ ?
मलाई बालुवाटार
स्विकार्य छैन
मलाई लाजिम्पाट
स्विकार्य छैन
अहँ पटक्कै छैन
सिंहदरबार छिरेर
संसदभवन हुँदै
नंग्रा तिखारेर बसेका
ब्वाँसाहरु
जाल बुन्दै बसेका
माकुराहरु स्विकार्य छैन
मेरो मष्तिष्क अचेल
यो राज्यसत्तालाई
धावा बोल्न चाहन्छ
लल्कार्न चाहन्छ
रक्तपिपाशुहरुका
ति फर्मानहरुलाई
देशको तालाचाबी
बुँख्याचाहरुको हातमा सुम्पि
राष्ट्रियताको खोक्रो नारा बोल्ने
कंकालहरुको आवाज
मलाई स्विकार्य छैन !!

Wednesday, August 12, 2015

दुखेको राष्ट्रियता

दुई ढुङ्गाबिच चेप्टिएको
एउटा सानो भुगोलभित्र
म मेरो राष्ट्रियताको नारा लगाउँदै
कतिन्जेल नेपाली हुनुमा गर्व गरुँ?
यो नपुंसक सरकारलाई
दिल्ली दरबारले
चौरासी व्यञ्जनको स्वाद चखाएर
नेपाल मातृभूमीको अस्मितामा
धावा बोलिरहेछ
लुटिरहेछ सतित्त्व!
मेरी नेपाल आमाको
नाङ्गो र कोमल छातीमाथि
बिदेशी कुकुरहरुले
दिनदाहाडै परेड खेलिरहँदा
यो सरकार
निमित्त आफ्नो सत्ता बचाउन
हारगुहार मागिरहेछ!
हिजो कालापानी गुमाउँदाको
असह्य पिडाहरु
खुम्चिएका सिमानाहरु
छातिभरी सुम्सुम्याउँदै
लिपुलेक हाम्रो भन्न पनि नपाउने?
बेचिएका कोशी कर्णाली अनी महाकाली
रुदै बग्दै गरेका ति गण्डकीका
अश्रुधाराहरुले हामीलाई सरापिरहेका बेला
ए सरकार भन्
म के आधार बोकेर
नेपाली हुनुमा गर्व गरुँ?
बरु भन्
सुस्ता हाम्रो हैन
कालापानी हाम्रो होइन
हाम्रो हुँदै हैन लिम्पियाधुरा र टनकपुर पनि
भन्दे खुलेआम भन्दे अब
हाम्रो राष्ट्र र राष्ट्रियता छैन
हाम्रो स्वामित्वमा
हाम्रो आफ्नै भुगोल छैन
म तयार छु
तेरो बिकाउ राष्ट्रियताको झण्डामुनी
अराष्ट्रिय भएर बाँच्न !!

Wednesday, August 5, 2015

गन्धे काठमाडौँ

आमा  तिम्ले ठिक सुन्यौ
यो काठमाडौँ साह्रै गन्हाउँछ
सुकिलामुकिला बाबुसाहेब/साहिबाहरुलाई
भरियाको पसिना गन्हाउँछ
बाटो हिँड्ने बटुवालाई
गल्ली गल्ली चोक चोक गन्हाउँछ
पँजेरो प्राडो चढ्नेहरुलाई
सुकुम्वासी बस्ती र गरिबी गन्हाउँछ
हो आमा
यो काठमाडौँ एकदमै दुर्गन्धित छ
मान्छेहरु भन्छन्
तर आमा
मलाई काठमाडौँ भन्दा ज्यादा
यहाँका मान्छे दुर्गन्धित लाग्छ
सडक गल्ली भन्दा ज्यादा
यात्रीहरु दुर्गन्धित लाग्छ
गन्हाउन त मलाई पनि गन्हाउँछ
उनिहरुलाई जस्तै
तर यो काठमाडौँ हैन
मान्छेहरुको मगज गन्हाउँछ
बागमतीको ढलभन्दा ज्यादा
मान्छेहरुको खोक्रो आडम्बर
मानबियता भन्दा ज्यादा
पैसाको रबाफिलो डकार
साह्रै साह्रै गन्हाउँछ आमा
यहाँको फोहोरी राजनीति
राजनेताहरुको जडौरी सपना
अक्सर यिनीहरुको आश्वासन
मलाई टुकुचा र बिष्णुमती भन्दा
सयौँ गुणा ज्यादा गन्हाउँछ
मान्छेहरुलाई यो काठमाडौँ गन्हाउँछ
मलाई यहाँका मान्छेहरु गन्हाउँछन्
हो आमा तिम्ले ठिक सुन्यौ
यो काठमाडौँ हामी बस्न लायक छैन
यो सम्भ्रान्त समाजमा
हामी जिउन लायक छैनौँ
यहाँ पाल्तु कुकुरहरुले पनि
हामी जस्ता गरिबको खिल्ली उडाउँछन्
हामी एक पेट खानको लागी
रगत र पसिना बगाउँछौँ
कुकुरहरु अचेल यहाँ
पँजेरोमा सयर गर्छन्
साँच्चै आमा
यो काठमाडौँ साह्रै गन्हाउँछ
काठमाडौँ भन्दा ज्यादा
मान्छेहरुको मगज गन्हाउँछ !!

Saturday, August 1, 2015

सपनाको खोज

ए कमरेड!
हामी मालेमावाद पढेर
माओवाद जिन्दावाद भन्दै
मुक्ती संग्राममा उत्रिएर
जाली फटाहा र सामन्तीका बिरुध्द
नारा घन्काउँदै
साम्यवादी समाजको परिकल्पनामा लिप्त
जोश र जाँगरका साथ
यो समाज फेर्ने अभिभारा बोकेर हिँडेका हैनौँ?
आज प्रश्नहरुको पहाडमा उभ्भिएर
मेरो यात्रिक पाइलाहरु
मेरो उद्देश्य र प्रतिफल खोजिरहेछन्;
कमरेड!
हजारौँ सहिदको रगतले कोरिएको
हाम्रो रक्तिम इतिहास कहाँ छ?
लाखौँको बलिदानीले आर्जेको
त्यो वाद कहाँ छ?
कहाँ छ हाम्रो सपनाको साम्यवादी समाज?
ए कमरेड!
मेरा खोजहरु
घरी पुग्छन् खाडीसम्म
घरी राज्यले बेपत्ता पारेकाे सन्तान
पर्खिएर बसेकी आमासम्म
घरी द्वन्दमा मारिएका
बाआमाबारे सोध्दै गरेका
नानी बाबुहरुसम्म
खोजेँ मैँले निरन्तर खोजिरहेँ
घरी लाजिम्पाट हुँदै सिंहदरबारसम्म
घरी दुतावास हुँदै दिल्ली दरबारसम्म
तर भेटिन मैँले
हाम्रा रगतका फाल्साहरुको मुल्य
सपनाको साम्यवादी समाज
भेटियो त केवल
उहि समाज
उहि वेथिती
उहि संस्कार
अनि हाम्रा सपनाका अनगिन्ती चिहानहरु
जहाँ हाम्रा सपनाहरु
थचारिएका छन् कहिल्यै नउठ्नेगरी!
म एक खोजकर्ता
त्यही युध्दको एक योध्दा
जो त्यहि मुक्तियुद्धको एक मोर्चा
झुर्झुरे मोर्चामा मारिएको योध्दा
अर्थात
म एक सहिद!

Sunday, June 21, 2015

मेरो कोखजस्तै बाँझो देश

यो भुगोलको म एक अघोषित बेश्या
म शरिर बेच्छु,सपना किन्छु
उनिहरु मेरो शरिर किनेर
मेरा सपनाहरु लिलाम गर्छन् !
दिनै पिच्छे हप्तै पिच्छे
मेरा सपनाहरु तुहिन्छन्
मेरा जिजीबिषाहरु तुहिन्छन्
जसरी बर्षै पिच्छे मेरो गर्भ तुहिन्छ !
म उर्वर भुमि भएर पनि
बाँझो खेत
न स्थायी किसान न कोही रखवाला
दिनहुँ आउने ती दलालहरु
खण्डिकृत मेरो अस्तित्व माथि
प्लटिङ् गर्छन् र जान्छन्;
मेरो भोगाई,मेरो जिवन,मेरो देश
फरक भएर पनि उस्तै
मेरो देश बाँझो;मेरो कोख जस्तै!!

Friday, May 29, 2015

गणतन्त्र

भोक र शोकले ग्रसित मन
अनिँदो कयौँ रात कटाएका आँखाहरु
रंगिन सपनाको च्यादर फालेर
ब्ल्याक एन्ड ह्वाइट जिन्दगीको
रमिते बन्दैछ!
बर्षौँ अगाडी आफ्नै छोरो
आफ्नै आँखा सम्मुख
छातीको भ्वाङ्भ्वाङ्ती प्वालबाट
अन्तिम स्वास फालिरहेको क्षण
स्मृतीमा ताजा बनाउँदै
पिँठ्युँमा नाम्लो बोकी
सहरका गल्ली गल्ली
एक पेट खाने आशमा
च्यातिएको दौरा सम्हाल्दै
नुनिँलो पानीले नुहाउँछ सँधै
र हिँड्छ त्यही बाटो हुँदै
त्यो अग्लो आकाशिय भवन
जस्लाई उ यमलोक भन्छ!
रगतका फाल्साहरु बेचेर
युवाका सपनाहरु लुटेर
सडकबाट सदन हुँदै गएको लुटेरा
आज श्रीपेच बिनाको महाराज भयो
सम्झेर त्यही कलुसित अनुहार
पिच्च थुक्छ गेटै छेउमा
अनि भन्छ,"गणतन्त्र मुर्दावाद!"

Monday, May 4, 2015

भुगोलपारी

अचेल झर्को लाग्छ मलाई
चुरा बजेको आवाज
छुनछुन पाउजुको धुन
बन्धन झैँ लाग्ने पोतेको डोरो
चुडाउँ झैँ लाग्छ
लाग्छ भागेर जाउँ
यो भुगोल भन्दा पनि पर
यति पर जहाँ
कोकिल कन्ठ सुनियोस्
मानबले मानबकै आरधना गरोस्
पुजोस् सत्कारले मष्तिष्कलाई
झुकोस् देब प्रेमको सामु
मुस्कुराउन फुल निर्धक्क बागमा
बगुन नदि निसन्देह स्वच्छ
स्वतन्त्र फैलिउन शान्तीको धुन
यो उद्देलित मन
कल्पन्छ अचेल
यसै यसै अनायसै
तर लाग्छ शंका
यो भुगोलभन्दा पारी
छ कि पो दुनियाँ ???

भँबरा(एक प्रेम)

भँबरा फुलको सौखिन
चुसेर रस भाग्छ पर पर
फर्कन्न कहिल्यै त्यो बागमा फेरी
मुर्झाउँछ फुल
शोकमै पलभर
म सोच्छु अक्सर
तिमी र भबँरामा के फरक छ?
फुलको उपमा दिइ
चुम्दै मेरा अंग अंग
रित्याउँदै रस यौबनको
कतै टाढाको सफर
तय गर्दैछौ तिमी
बेशक मेरा भोगाईहरु
मेरै बर्बादीको सबुत बन्दै
खबरदारी गरिरहन्छ पल प्रतिपल
तरै पनि
म लुटाउन इच्छुक
मेरो सर्बश्व कुमारित्व
लैलाको भुमिकामा
प्यासी मजनुको बाहुपासमा
किन किन पत्तो छैन
म सोध्छु
एकलास यो सन्नाटालाई
के प्रेम यस्तै हुन्छ??

Tuesday, April 21, 2015

तनाब

जति नै एकाकार हुन खोजे पनि
आफ्नै मनसँग
वाह्य कर्कस आवाजले
छेकिरहन्छ बाटो मेरो
साँच्चै
तनाब कति नजाती हुने
पिरोल्छ,निमोठ्छ अनायसै
अंकुराउँदै गरेका रहरहरुलाई
बाध्यताले हो कि रहरले
बुझिन्न यहाँ
आफैँले बोलेको पनि
उसो त प्रश्न छ मेरो
के आफुसँग म बोलेँ र कहिल्यै?
कि चिच्याइरहेछु
यो कप्टि दुनिँयालाई सुनाउन
मन भरीका पिडाहरु?
अनुत्तरित मेरा प्रश्नहरुले
दुखाउँछ मलाई नै
यत्रतत्र सर्बत्र
र पनि
खोजिरहेछ मन
एकाकार हुन आफैँसँग

प्रतिक्षामा तस्बिर

जानेहरु छोडेर कतै पर
यो मुटुभन्दा पनि टाढा
फेरी फर्किएलान् नफर्किएलान्
तर पनि
बर्षौँ देखिका
यी प्रतिक्षारत आँखाहरु
उ हिँड्ने गरेकै गोरेटोमा बिछ्याएर
एक युग बिताउन राजी यो मन
लाग्छ त्यो भित्तामा झुन्ड्याइएको तस्बिर झैँ
मौन प्रतिक्षामा छ कसैको
सायद
केहि संगम पक्कै हुँदो हो
त्यो तस्बिर र ममा
र त
उसको टोलाएको मुहार हेर्दा
म स्वयं टोलाउँछु कता कता
पत्तो नदिइ यी आँशुहरु
आँखाको बलेसि हुँदै बग्छन्
उसो त त्यो तस्बिर किन रुँदैन?
किन पोख्दैन पिडा?
र पनि
म बोध गर्छु हेरेरै तस्बिर
सुम्सुम्याउन सक्छु उसको आत्मा
त्यसैलै
हुनसक्छ हामी एक जस्तो भएर पनि
समानान्तर रेखामा बाँचेर पनि
केही फरक पक्कै छ ममा
त्यो झुन्ड्याइएको तस्बिर भन्दा

Monday, April 13, 2015

झरी

मेरै झ्यालबाट देख्दैछु
रुँदैछ आकाश
बर्षाउँदैछ पिडाहरु
साँच्चै
म त्यो झरी किन भइन?
हुँदि हो त
निस्फिक्री बगाउँथे
सदियौँदेखि लुकाइराखेका पिडाहरु..

Sunday, April 12, 2015

गजल

किनबेच हुन्छ रे सिंहदरबार बिक्रीमा छ
दलिय नेतासँगै यो सरकार बिक्रीमा छ

बिभत्स घटनामा नछट्पटाउने नबोल्ने
निर्जिब कलम बोक्ने पत्रकार बिक्रीमा छ

यथार्थमा हैन चाप्लुसिमा रमाउने सँधै
यी आम मिडिया अनि समाचार बिक्रीमा छ

स्याबासी त राम्रो कामले पो पाइन्छ हैन
भारु र डलरको जयजयकार बिक्रीमा छ

को सुन्छ यहाँ पिडा र क्रन्दनको आवाज
नाङ्गो तस्बिर भरिएको अखबार बिक्रीमा छ

गजल

विश्वमान चित्रबाट हराउँदैछ मेरो देश
उन्मुक्तिको चाहसँगै कराउँदैछ मेरो देश

रातारात जङ्गे पिल्लर सरेका छन् हेर
सतित्व नै लुट्नेसँग डराउँदैछ मेरो देश

आफ्नाले नै नैतिकता साटेपछि डलरमा
सपुतको खोजिमा बर्बराउँदैछ मेरो देश

चाल अब जब्बर कदम देश बचाउन
स्वाधिनतालाई मन पराउँदैछ मेरो देश

गजल

अब त यो जिउँदो लाश बाँकी छ
तिमीसँग थोरै आश बाँकी छ

म मर्नु अघि नै तिमी आउँछौ
हृदयमा यो बिश्वास बाँकी छ

केहि गल्ती तिम्रो अनि केही मेरो
सच्याउनुपर्ने इतिहास बाँकी छ

थोरै डढेको थोरै भत्किएको त्यो
हाम्रो प्रेमको घरबास बाँकी छ

तिम्रै लागि केबल तिम्रै लागि
यो छातिमा अन्तिम स्वास बाँकी छ

गजल

लहर हुँदा टाढा त्यो बगर एक्लो भयो
उदास मेरो जिन्दगीको सफर एक्लो भयो

तिमी थियौ र त यहाँ थियो ठुलो रमझम
बिना तिम्रो आगमनमा नगर एक्लो भयो

कति कुरुँ तिम्रो बाटो हेर्दै जुनतारा
तिम्रो यादमा हरेक प्रहर एक्लो भयो

चुरापोते,धागो,सिउँदोमा सिन्दुर अनि
तिम्रै नाममा लगाउने रहर एक्लो भयो

बिर्सियौ कि कठै सानु तिम्री का़यालाई
पठाएनौ पत्र र त खबर एक्लो भयो

Friday, April 10, 2015

सजल भाव

कतिपय शब्दहरु कोर्दा कोर्दै आँखाहरु रसाउँछन् र रसाउनुको रहस्य खोजेर कतै भेटिन्न कहिलेकाहीँ बस् सजल नेत्रसँगै कोरिन्छन् भावहरु र पोखिन्छन् यत्रतत्र सर्बत्र...
सायद तलका हरफहरुले गजलको नियम पुरा गरे या गरेनन् थाहा छैन तर यति थाहा छ कि जति शब्द कोरेँ एक एक शब्दले आँखा सजल बनाए!उसो त म आफैँलाई पनि थाहा छैन यी शब्दभित्र म आफैँ पर्छु कि पर्दिन...

हर दिन हर रातले रुवाउँछ आमा
समयको अन्तरघातले रुवाउँछ आमा

नगर्नु बिश्वास परायाको भन्थ्यौ नि
यी आफ्नै भन्ने जातले रुवाउँछ आमा

पैसामा बिक्दो छ माया ममता पनि
ब्यापारीको यो जमातले रुवाउँछ आमा

माया गरेझैँ गरी छक्याइकन कठै!
छुरी धस्ने ती हातले रुवाउँछ आमा

न रह्यो आफ्नोपन न रहे आफन्ति
मलाई यो बज्रपातले रुवाउँछ आमा

Thursday, April 9, 2015

गजल

हिँड्दा हिँड्दै दोबाटोमा छुटेका ति हातहरु
लाग्छ कति प्रिय थिए आफन्तका साथहरु

जति भुल्न खोजुँ भन्छु झनै बढ्छ किन
काँडा बनि घोच्छ कठै मुटुमा ति बातहरु

भन्न कति सहज तर भोग्नेलाई छ गाह्रो
कस्ले बुझ्छ छटपटाई बितेका ति रातहरु

राखि काँखमा रेट्दै गला गए आफ्ना भन्नेहरु
कति निठुर कति कप्टि यि मान्छेका जातहरु

आँशुहरु बदलामा फेर्छु भनि मैँले पनि
सँगालेर राखेँ हरेक बिश्वासघातहरु !!

गजल

तेरो र मेरो बिचको दुरीको परिणाम हो यो
जिवन जिउने मजबुरीको परिणाम हो यो

न दे दोष कसैलाई,उसलाई न मलाई
मात्र तेरो एक्लो चुरीफुरीको परिणाम हो यो

हिम्मत थिएन तभित्र सामुन्ने भै युध्द जित्ने
पिठ्युँ पछाडि धसेको छुरीको परिणाम हो यो

उडायो सबै अबशेष बाँकि छैन केहि नै
त आफैँले निम्ताएको हुरीको परिणाम हो यो

गजल

सम्पत्ति प्रतिको तिम्रो झुकाब बडो गजब लाग्छ
कुरुप मन चेहरामा नकाब बडो गजब लाग्छ

आफैँसँग रित्तीएर बाँचेको देख्दैछु म कठै!
फेरी यो देखावटी रबाफ बडो गजब लाग्छ

नैतिकता बिर्सियौ भुल्यौ सिमा आफ्नो अनि
कुन आँटले दिन्छौ सुझाब बडो गजब लाग्छ

कति ठुलो कला छ है भ्रममा राख्ने तिम्रो यसै
पिँठ्युमा छुरा;हातमा गुलाब बडो गजब लाग्छ

पोल्छ कि कसो भत्भति अचेल छाती तिम्रो
आँशु पिउँछौ कि पिउँछौ सराब बडो गजब लाग्छ

शिर्षक बिहिन कविता

मैँले फुटाईदिएँ हातका चुरा
चुडालेँ बन्धन मंगलसुत्रको
पखालेँ सिउँदोको सिन्दुर
र स्विकार गरेँ
लोग्ने नमर्दैको बिधवा हुन !
श्रीमान श्रीमान जस्तो नभएपछि
सम्बन्ध सम्झौता जस्तै बनिदिएपछि
प्रेम नै हुन्थ्यो पो कसरी खै !
मनसँग मन नै नमिले पछि
त्यसैले
उसका हरेक प्रेमबिहिन उत्तेजक स्पर्शमा
म निस्फिक्री स्खलित हुन सकिन
न गर्भाधान गराउन सकेँ
सुन्दर र स्वर्णिम भबिष्य
र त
वेश्यावृत्ति झैँ लाग्ने
हरेक रातका ति कृयाकलाप
मैँले चुपचाप स्विकार्न सकिन
यौवन प्यास मेटाउने साधन जस्तै
आफु परिचालित हुन सकिन
अन्तत:
जिन्दगी जिन्दगी जस्तै बनाउन
आफु जिवित हुनुको बोध गराउन
मैँले सहस्र स्विकार गरेँ
लोग्ने नमर्दैको बिधवा बन्न!!

आकांक्षा

मेरै झ्यालबाट देख्दैछु
रुँदैछ आकाश
बर्षाउँदैछ पिडाहरु
साँच्चै
म त्यो झरी किन भइन?
हुँदि हो त
निस्फिक्री बगाउँथे
सदियौँदेखि लुकाइराखेका पिडाहरु..

Friday, April 3, 2015

गजल

निर्धक्क सास फेर्न गाह्रो छ भन्दैछु म
दुःख,पिडा,आँशु तगारो छ भन्दैछु म

पाउनु गुमाउनु नियती छैन गुनासो
मेरो संसार यसै अँध्यारो छ भन्दैछु म

किन भाक्छन् देव दिर्घायुको आशमा
मलाई त्यही मृत्यु प्यारो छ भन्दैछु म

लैजा न ए काल जहाँ छ तेरो दुनिँया
यो धर्तीमा जिवन गाह्रो छ भन्दैछु म

Thursday, April 2, 2015

मन

मान्छेको आदत नै यस्तो
दुखाएर मुटु
मागेर माफी
दोहोर्याउँदै गल्ती
खेलिरहन्छन् बिश्वाससँग
तर कठै!मन,
बहकिन्छ
फक्किन्छ
बारबार
हजार बार...

कबिता

उसका गिद्धे नजरले
निँयाल्यो एकटक
सर्वेक्षण गर्यो
शिरदेखि पाउसम्म
फ्याँक्यो कुटिल हाँसो
नंग्यायो नजरैले
एक ब्यस्त बजारमा
मानिसको भिडमा
त्यही जमातमा
लुट्यो कठै!
रजश्वला नहुँदैको
कलिलो यौवन!!

Wednesday, March 25, 2015

आबह्वान

ए सरकार!
हदको हद निर्धारण गरिदे;
यहाँ
हदले हद पार गरेर
बेहद दुखाइरहेछ जिन्दगी!!