Wednesday, September 2, 2015

मलाई स्विकार्य छैन

हजारौँ सहिदको
रक्तकुण्डमा होली खेलेर
लाल कमरेडहरु
लाल दरबारभित्र
लालसाको खेती गरिरहेछन्
मेरो क्रान्ति चेत
लालझण्डाको छायाँमुनि
सुरक्षित भएको ढोंग
कहिलेसम्म गरुँ ?
मलाई बालुवाटार
स्विकार्य छैन
मलाई लाजिम्पाट
स्विकार्य छैन
अहँ पटक्कै छैन
सिंहदरबार छिरेर
संसदभवन हुँदै
नंग्रा तिखारेर बसेका
ब्वाँसाहरु
जाल बुन्दै बसेका
माकुराहरु स्विकार्य छैन
मेरो मष्तिष्क अचेल
यो राज्यसत्तालाई
धावा बोल्न चाहन्छ
लल्कार्न चाहन्छ
रक्तपिपाशुहरुका
ति फर्मानहरुलाई
देशको तालाचाबी
बुँख्याचाहरुको हातमा सुम्पि
राष्ट्रियताको खोक्रो नारा बोल्ने
कंकालहरुको आवाज
मलाई स्विकार्य छैन !!

No comments:

Post a Comment