Thursday, April 9, 2015

शिर्षक बिहिन कविता

मैँले फुटाईदिएँ हातका चुरा
चुडालेँ बन्धन मंगलसुत्रको
पखालेँ सिउँदोको सिन्दुर
र स्विकार गरेँ
लोग्ने नमर्दैको बिधवा हुन !
श्रीमान श्रीमान जस्तो नभएपछि
सम्बन्ध सम्झौता जस्तै बनिदिएपछि
प्रेम नै हुन्थ्यो पो कसरी खै !
मनसँग मन नै नमिले पछि
त्यसैले
उसका हरेक प्रेमबिहिन उत्तेजक स्पर्शमा
म निस्फिक्री स्खलित हुन सकिन
न गर्भाधान गराउन सकेँ
सुन्दर र स्वर्णिम भबिष्य
र त
वेश्यावृत्ति झैँ लाग्ने
हरेक रातका ति कृयाकलाप
मैँले चुपचाप स्विकार्न सकिन
यौवन प्यास मेटाउने साधन जस्तै
आफु परिचालित हुन सकिन
अन्तत:
जिन्दगी जिन्दगी जस्तै बनाउन
आफु जिवित हुनुको बोध गराउन
मैँले सहस्र स्विकार गरेँ
लोग्ने नमर्दैको बिधवा बन्न!!

No comments:

Post a Comment